लाभांश बुझिलिन शेयरधनीलाई युनिलिभर नेपालको आग्रह

तु खबर संवाददाता
२०८३ बैशाख १७, बिहीबार ०८:२८

युनिलिभर नेपाल लिमिटेडले विगत पाँच वर्षदेखि नलिइएको लाभांश रकम बुझिलिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ। २७औं वार्षिक साधारणसभाबाट पारित लाभांशमध्ये केहीले हालसम्म लाभांश नलिएपछि यस्तो आग्रह गरेको हो।

कम्पनीका अनुसार उक्त आर्थिक वर्ष २०७६/०७७ को कुल ६ लाख ९३ हजार ३३० रुपैयाँ बराबरको लाभांश अझै भुक्तानी हुन बाँकी रहेको छ। सम्बन्धित शेयरधनी वा उनका हकवालाले हालसम्म पनि उक्त रकम नलिएको कम्पनीले जनाएको छ।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा रहेको शेयर रजिष्ट्रारको कार्यालयमार्फत लाभांश लिन सकिने व्यवस्था गरिएको छ। यसका लागि शेयरधनीले आफ्नो शेयर प्रमाणपत्र तथा परिचय खुल्ने कागजातसहित अबको ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्नु पर्नेछ। तोकिएको अवधिभित्र लाभांश रकम नलिएमा कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने पनि कम्पनीले स्पष्ट पारेको छ।