नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण

तु खबर संवाददाता
२०८३ बैशाख १५, मंगलवार २०:१०
file-photo

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा तथ्यांकले नेपालको अर्थतन्त्र क्रमशः विस्तार हुँदै गएको संकेत दिएको छ। प्रारम्भिक अनुमानअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब रुपैयाँ पुग्ने देखिएको छ, जुन अघिल्लो आर्थिक वर्षको ६१ खर्ब ९९ अर्ब रुपैयाँको संशोधित अनुमानभन्दा उल्लेख्य वृद्धि हो। त्यसअघि २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रुपैयाँमा सीमित थियो।

कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले चालु आर्थिक वर्षमा उपभोक्ताको मूल्यमा आधारित आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरेको छ। यद्यपि वृद्धि सकारात्मक भए पनि अपेक्षाकृत मध्यम स्तरमै सीमित रहेको देखिन्छ। कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत मात्र रहने अनुमान गरिएको छ भने गैरकृषि क्षेत्र ४.५४ प्रतिशतले विस्तार हुने देखिएको छ। अर्थतन्त्रको संरचनामा सेवा क्षेत्रको वर्चस्व कायम रहँदै यसको योगदान ६१.८ प्रतिशत रहने अनुमान गरिएको छ भने प्राथमिक क्षेत्रको योगदान २४.५ प्रतिशत र द्वितीय क्षेत्रको हिस्सा १३.७ प्रतिशत रहनेछ।

औद्योगिक वर्गीकरणअनुसार यस वर्ष सबैभन्दा तीव्र वृद्धि विद्युत् तथा ग्यास क्षेत्रमा हुने देखिएको छ, जसको वृद्धिदर २०.९३ प्रतिशत रहने अनुमान छ। नयाँ जलविद्युत् आयोजना सञ्चालनमा आउनु र प्रसारण संरचनाको विस्तार हुनु यसको प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ। त्यस्तै वित्तीय तथा बिमा क्षेत्र ९.१६ प्रतिशतको वृद्धिसहित दोस्रो स्थानमा रहनेछ। विपरीत रूपमा सार्वजनिक प्रशासन तथा सुरक्षा क्षेत्र ०.२३ प्रतिशत र शिक्षा क्षेत्र १.५० प्रतिशत वृद्धिसहित सबैभन्दा सुस्त रहने प्रक्षेपण गरिएको छ।

कुल गार्हस्थ्य उत्पादनमा क्षेत्रगत योगदानतर्फ कृषि, वन तथा मत्स्य क्षेत्रले २४.०३ प्रतिशत र व्यापार क्षेत्रले १४.०९ प्रतिशत योगदान गर्ने अनुमान छ। पानी आपूर्ति तथा फोहोर व्यवस्थापन र खानी तथा उत्खनन् क्षेत्रको योगदान भने न्यून रहने देखिएको छ। धान उत्पादनमा ४.१६ प्रतिशतको गिरावट आउने अनुमानका कारण कृषि क्षेत्रको समग्र वृद्धि अपेक्षाभन्दा कमजोर देखिएको हो।

कार्यालयका अनुसार राष्ट्रिय लेखा अनुमान २०६७/६८ को स्थिर मूल्यमा आधारित छ र आर्थिक वृद्धिदर मापनका लागि स्थिर मूल्यमा गणना गरिएको जीडीपी प्रयोग गरिएको छ। नेपालमा २१ वटा औद्योगिक क्रियाकलाप समेटिए पनि १८ प्रमुख गतिविधिमा केन्द्रित भई विश्लेषण गरिएको छ।

प्रतिव्यक्ति आयतर्फ चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति जीडीपी १,५१३ अमेरिकी डलर पुग्ने अनुमान छ, जुन अघिल्लो वर्षको १,५१६ डलरभन्दा केही कम हो। डलरको सटहीदरमा भएको उतारचढावले यस्तो प्रभाव पारेको कार्यालयको भनाइ छ। यसअघि २०८०/८१ मा प्रतिव्यक्ति आय १,४५६ डलर रहेको थियो।

त्यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ डलरमै स्थिर रहने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा पनि सोही स्तरमा रहेको यो सूचकमा उल्लेख्य वृद्धि देखिएको छैन। तर प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय भने बढेर २,०४४ डलर पुग्ने अनुमान गरिएको छ, जसको मुख्य कारण उच्च विप्रेषण प्राप्ति रहेको बताइएको छ।

आर्थिक सूचकहरूअनुसार विप्रेषण जीडीपीको ३३.०२ प्रतिशत बराबर पुग्ने अनुमान छ। कुल राष्ट्रिय बचत जीडीपीको ४४.७७ प्रतिशत र अन्तिम उपभोग खर्च ९०.२९ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। बाह्य क्षेत्रतर्फ निर्यात जीडीपीको ९.९७ प्रतिशत र आयात ३४.५२ प्रतिशत रहने देखिएको छ।