कक्षा १२ को परीक्षा सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

तु खबर संवाददाता
२०८३ बैशाख १४, सोमबार ०९:३८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले सञ्चालन गर्ने कक्षा १२ को वार्षिक परीक्षा आज सोमबारदेखि देशभर सुरु भएको छ। पहिलो दिन बिहान ८ बजेदेखि ११ बजेसम्म अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ।

यस वर्ष देशभरबाट कुल ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी भएका छन्। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० विद्यार्थी परीक्षामा सहभागी छन्। आंशिक परीक्षामा २०७९ यताका विद्यार्थीहरू समावेश भएका छन्।

परीक्षाका लागि देशभर १ हजार ४२१ परीक्षा केन्द्र तोकिएका छन्। साथै, जापानस्थित एभरेस्ट स्कुलका ३६ जना विद्यार्थीले पनि यसै परीक्षामा सहभागिता जनाएका छन्।

बोर्डले परीक्षा सकिएको करिब डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुने तालिका छ।

यस वर्ष परीक्षार्थी संख्या गत वर्षको तुलनामा घटेको छ। गत वर्ष ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएकामा यस वर्ष ९२ हजार ७२५ जना कम भएका छन्। बोर्डका अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजामा सुधार आएकाले आंशिकतर्फ विद्यार्थी संख्या घट्दा कुल परीक्षार्थी संख्या पनि घटेको हो।

गत वर्ष कक्षा १२ मा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।