काठमाडौंमा वायु प्रदूषण पुनः खतरनाक स्तरमा

तु खबर संवाददाता
२०८३ बैशाख १०, बिहीबार १३:२०

काठमाडौं । केही दिनअघिको वर्षापछि सुधारिएको देखिएको उपत्यकाको वायु गुणस्तर फेरि तीव्र रूपमा बिग्रिएको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआई) बुधबार बिहान ११ बजेसम्म आइपुग्दा २४७ पुगेको छ, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ।

केही दिनअघि करिब ९२ को हाराहारीमा रहेको एक्युआई छोटो समयमै ह्वात्तै बढेर गम्भीर अवस्थामा पुगेपछि सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने जोखिम बढेको विज्ञहरूले चेतावनी दिएका छन्।

एक्युआई मापदण्डअनुसार ०–५० ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ। हालको स्तरले उपत्यकाको वायु अवस्था गम्भीर श्रेणीमा पुगेको स्पष्ट देखाउँछ।

विज्ञहरूका अनुसार वर्षा अभाव, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने चलन र वन डढेलोका घटनाले प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन्। पानी नपरेका कारण धुलो र धुवाँका सूक्ष्म कण वायुमण्डलमै थुप्रिने अवस्था सिर्जना भएको छ।

यसको असर विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुसम्बन्धी रोगीमा बढी पर्ने बताइएको छ। स्वास्थ्य विज्ञहरूले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, बाहिर निस्कँदा मास्क प्रयोग गर्न तथा धुलो–धुवाँबाट जोगिन आग्रह गरेका छन्।