अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपालमा,उच्चस्तरीय भेटघाट हुँदै

तु खबर संवाददाता
२०८३ बैशाख ७, सोमबार १०:१८

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौँ आइपुगेका छन्। नयाँ सरकार गठनपछि नेपाल भ्रमणमा आउने उनी सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्।कपुर आज बिहान करिब ६:२० बजे टर्किस एयरलाइन्सको फ्लाइट टीके–७२६ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी तीन दिन काठमाडौँमा रहने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

रास्वपा नेतृत्वमा नयाँ सरकार गठन भएसँगै द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित कपुर नेपाल आएका हुन्। काठमाडौं बसाइका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने तथा सरकारका केही मन्त्रीहरूसँग छलफल गर्ने तयारी छ।भ्रमणका क्रममा कपुरले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सरकारको आर्थिक प्राथमिकता तथा अमेरिकी सहयोग परियोजनाबारे छलफल गर्ने कार्यक्रम छ। विशेषगरी  (एमसीसी) अन्तर्गतको नेपाल कम्प्याक्टको कार्यान्वयनलाई तीव्रता दिने विषयमा अमेरिकी पक्षको चासो रहने बताइएको छ।

कपुर दक्षिण एशियाली सुरक्षाका विज्ञका रूपमा चिनिन्छन्। उनलाई अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२५ अक्टोबरमा दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए। भारतको नयाँ दिल्लीमा जन्मिएका कपुर दक्षिण एशियाको भूराजनीतिक अवस्थाबारे गहिरो समझ राख्ने कूटनीतिज्ञका रूपमा परिचित छन्। यसपटक उनी नेपालका लागि मात्र लक्षित भ्रमणमा आएको समेत जनाइएको छ, जुन अमेरिकी उच्च अधिकारीहरूको सन्दर्भमा दुर्लभ मानिन्छ।