राष्ट्रपति पौडेलद्वारा नयाँ वर्षको शुभकामना व्यक्त
काठमाडौं । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको लागि शुभकामना व्यक्त गरेका छन् ।
नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश दिँदै उनले शुभकामना सन्देशमा नयाँ वर्षलाई विशेष दिन मानेर विगतको समीक्षा गर्ने र आगामी दिनमा गरिने कार्यहरुको लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिइँदै आएको उल्लेख गरेका छन् । नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन पनि हो, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् ।
भर्खरै मुलुकमा प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुकमा उत्पन्न विषम परिस्थितिले निकास पाएको स्मरण गर्दै जनताको नयाँ जनादेशबाट नयाँ सरकार गठन भइसकेको समेत बताएका छन् ।
यो निर्वाचनमार्फत नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा विधिको शासन, दिगो शान्ति, सुशासन, सामाजिक न्यायसहितको विकास र समृद्धिको चाहना अभिव्यक्त गरेका छन् र यसका लागि हामी दृढ लक्ष्यसहित अगाडि बढ्ने संकल्प गरौं भन्ने पनि चाहेका छन्, पौडेलले विज्ञप्तीमा भनेका छन् ।

