केपी शर्मा ओली जिम्मा जमानीमा रिहा, अनुसन्धानमा सहयोग गर्ने सर्त
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले जिम्मा जमानीमा रिहा गरेको छ। सर्वोच्च अदालतको आदेशपछि सरकारी वकिलको कार्यालयबाट पत्र आएसँगै उनलाई छाड्ने प्रक्रिया अघि बढाइएको थियो।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका क्रममा आवश्यक परे हाजिर हुने सर्तमा ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मामा छाडिएको हो। सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि उनकी पत्नी यशोदा जोशी लेखकको जिम्मामा रिहा गरिएको छ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान जाने गरी दमन गरेको आरोपमा प्रहरीले ओली र लेखकलाई चैत १४ गते पक्राउ गरेको थियो। पक्राउपछि बिरामी रहेका ओली त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए भने लेखकलाई प्रहरी हिरासतमा राखिएको थियो।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनील पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरे पनि परमादेश जारी गर्दै उनीहरूलाई थुनामुक्त गर्ने बाटो खुलाएको थियो। साथै, अदालतले अब थप म्याद नथप्न निर्देशन दिएको थियो।
जेनजी आन्दोलन घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध अनुसन्धान अघि बढाइएको भए पनि मुद्दा दायर गर्न पर्याप्त प्रमाण नदेखिएपछि जिम्मा जमानीमा रिहा गरिएको हो।
प्रहरी हिरासतबाट मुक्त भए पनि स्वास्थ्य समस्याका कारण ओलीको उपचार भने जारी रहनेछ। चिकित्सकको सल्लाहअनुसार उनी केही दिनपछि मात्रै अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ।
