नयाँ वर्षदेखि काठमाडौंमा रात्रिकालीन बस सेवा सञ्चालन

तु खबर संवाददाता
२०८२ चैत्र १९, बिहीबार १३:१०

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। महानगरले साझा यातायातसँगको सहकार्यमा बेलुका ८ बजेदेखि राति ११ बजेसम्म बस सेवा सञ्चालन गर्ने जनाएको छ।

महानगरका अनुसार सुरुवाती चरणमा दुईवटा रुटमा चार वटा विद्युतीय बस सञ्चालन हुनेछन्। उत्तर–दक्षिण रुटअन्तर्गत ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म सेवा सञ्चालन हुनेछ। यो रुटको एकतर्फी दूरी १६ किलोमिटर रहेको छ।

त्यस्तै, पूर्व–पश्चिम रुट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ। यस रुटको एकतर्फी दूरी २० किलोमिटर रहेको महानगरले जनाएको छ।

तोकिएका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरालमा बस उपलब्ध हुनेछन्। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै बसमा सीसीटिभी क्यामेरा जडान गरिनेछ भने नगर प्रहरीसमेत परिचालन गरिनेछ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बेलुका समयमा सार्वजनिक यातायात अभाव हुँदा महँगो भाडा तिर्नुपर्ने बाध्यता हटाउन यो सेवा सुरु गर्न लागिएको बताइन्। उनका अनुसार विशेषगरी महिला, किशोरी र विद्यार्थीहरूले भोग्दै आएको समस्या समाधान गर्न यो पहल गरिएको हो।

डंगोलले सेवालाई अत्याधुनिक, सुरक्षित, सहज र भरपर्दो बनाउने लक्ष्य रहेको उल्लेख गर्दै आवश्यक परे थप साझेदारसँग सहकार्य गर्न महानगर खुला रहेको जानकारी दिइन्।