पराजय स्वीकार्दै ओलीले भने जनताको फैसला नै अन्तिम फैसला
काठमाडौं : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पराजित भएका छन्। उनी रास्वपाका वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग ठूलो मतान्तरले पराजित भएका हुन्।
पराजयपछि ओलीले फागुन २३ गते सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनलाई बधाई दिएका थिए। उनले आफ्नो पोस्टमा लेखेका छन्, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न र सफल रहोस्—हार्दिक शुभकामना।” उक्त पोस्टमा बालेनले भने कुनै प्रतिक्रिया दिएका छैनन्।
आज पुनः फेसबुकमा पोस्ट गर्दै ओलीले यस पटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम ल्याउन नसकेको बताएका छन्। उनले लेखेका छन्, “यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम ल्याउन सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।”
ओलीले यो आफूका लागि कठिन घडी भएको उल्लेख गर्दै यस्तो अवस्थामा पनि आफू र आफ्नो पार्टीलाई मत दिने मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्।
झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरेका छन्। यस निर्वाचनमा रास्वपाले १८२ सिट जित्दा नेकपा एमालेले २५ सिट मात्र जित्न सफल भएको छ।
