सरकारबाट बीमा भुक्तानी नआए महानगरले नै तिर्छ : मेयर चिरिबाबु महर्जन
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालन भइरहेको स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिकाले आफैंले रकम तिर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर महर्जनले बीमा रकम समयमै नआउँदा अस्पताल सञ्चालनमा समस्या देखिएको उल्लेख गरे। उनले सरकारलाई शीघ्र भुक्तानी गर्न आग्रह गर्दै भने, “कथंकदाचित नेपाल सरकारले भुक्तानी नगरेर स्वास्थ्य केन्द्र बन्द गर्नुपर्ने अवस्था आयो भने त्यसको सबैभन्दा ठूलो जिम्मेवारी र आलोचना म स्वयंले वहन गर्नेछु।”
महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरपालिकालाई नै भुक्तानीको जिम्मेवारी सुम्पिएमा महानगरले उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे। साथै, पाटन अस्पतालकै प्राविधिक सल्लाहअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको र निकट भविष्यमै सञ्चालनमा ल्याइने जानकारी दिए।
उनका अनुसार नयाँ स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन्। ललितपुर महानगरपालिका र पाटन अस्पतालबीचको सहकार्य देशभरका ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यास बन्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा मेयर महर्जनले थपे, “यो केन्द्र सञ्चालनमा आएपछि हामीले अझ प्रभावकारी र गुणस्तरीय सेवा दिन सक्नेछौं। ललितपुर महानगरपालिकाले पाटन अस्पतालसँग मिलेर अघि बढाएको यो प्रयास सम्पूर्ण मुलुकका लागि असल अभ्यास हुनेछ। सरकारलाई आग्रह छ- पाटन अस्पताललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिनुहोस्, यसले देखिएका समस्या समाधान गर्न मद्दत पुग्नेछ।”
