ग्राण्डी अस्पतालमा उपचाररत पत्रकार दिनेश सिटौलाको मृत्यु
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष तथा फिल्म अनलाइन द सिनेमा टाइम्स का सञ्चालक दिनेश सिटौलाको निधन भएको छ। काठमाडौंस्थित ग्राण्डी अस्पतालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनको दिउँसो १२ बजेर ४५ मिनेटमा निधन भएको जानकारी दिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा आगामी निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) सँगै सुदूरपश्चिम भ्रमणमा रहेका सिटौला माघ १६ गते बिहान करिब पौने १० बजे अछाममा अचानक बेहोस भएर ढलेका थिए। तत्काल अछाम अस्पताल पुर्याउँदा उनको स्वासप्रश्वास बन्द भइसकेको थियो। प्रारम्भिक उपचारका क्रममा कार्डियोपल्मोनरी रेससिटेशन (सीपीआर) दिँदा करिब ४५ मिनेटपछि मुटुको चाल फर्किएको अस्पतालले जनाएको छ।
गम्भीर अवस्थामा रहेका उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई ग्राण्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनलाई गम्भीर ब्रेन हेमोरेज भएको थियो र क्रिटिकल केयर तथा न्यूरो सर्जरी टिमको निरन्तर उपचारका बाबजुद ४८ घण्टासम्म उनको न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखिएन।
ग्राण्डी अस्पतालले चिकित्सकीय प्रोटोकलअनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरिएको र परीक्षण पोजेटिभ आएको जनाएको छ, जसले स्वतः श्वासप्रश्वास नभएको पुष्टि गरेको थियो। त्यसपछि आइतबार दिउँसो १२:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
अस्पतालले सिटौलाको निधनको कारण गम्भीर मस्तिष्क रक्तस्राव (ब्रेन हेमोरेज) भएको स्पष्ट गरेको छ। परिवारका सदस्यहरूबीच पोस्टमार्टम गर्ने वा नगर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।४५ वर्षको उमेरमा निधन भएका सिटौला चलचित्र पत्रकारितामा सक्रिय व्यक्तित्व थिए।
