काठमाडौंमा लुटेरा समूहमाथि गोली प्रहार, १० जना पक्राउ
काठमाडौँ । काठमाडौँको मूलपानीमा लुटेरा समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गरेको छ । बुधबार राति जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँका विभिन्न स्थानबाट लुटपाटमा संलग्न १० जनालाई नियन्त्रणमा लिइएको छ । तीमध्ये दुई जनालाई मूलपानीमा पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड गोली चलाएको हो ।
गोली लागेर लुटेरा समूहका एक जना नाइकेको खुट्टामा चोट लागेको छ । घाइतेको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लुटेरालाई नियन्त्रणमा लिने क्रममा दुई जना प्रहरीसमेत घाइते भएका छन् ।
प्रहरी परिसर काठमाडौँका अनुसार सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि बाध्य भएर गोली चलाएर लुटेरा नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुर क्षेत्रमा मोटरसाइकल प्रयोग गरी लुटपाट आतङ्क मच्चाउँदै आएका थिए । पक्राउ परेका १० जना एउटै समूहका हुन् वा छुट्टाछुट्टै समूहका हुन् भन्ने विषयमा थप स्क्रिनिङ भइरहेको डिएसपी बताइएको छ ।पक्राउ परेका लुटेराहरूको नाम भने प्रहरीले हाल सार्वजनिक गरेको छैन ।
