सुदूरपश्चिमदेखि हिमालसम्म वर्षा र हिमपातको प्रभाव
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र पहाडी-तराई भूभागमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बदली रहनेछ भने बाँकी पहाडी र तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने बागमती, मधेश र कोशी प्रदेशका पहाडी भागका केही स्थानमा तथा कोशी प्रदेशको तराईका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति पहाडी तथा हिमाली भेगमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको सबैभन्दा बढी प्रभाव सुदूरपश्चिम प्रदेशमा देखिएको छ। बादल क्रमशः पूर्वतर्फ सर्दै कोशी प्रदेशसम्म पुगे पनि प्रभाव भने पूर्वतिर जाँदा कमजोर हुँदै गएको छ। पछिल्लो १२ घण्टामा सबैभन्दा बढी डडेलधुरामा २९.६ मिलिमिटर वर्षा मापन गरिएको छ। पछिल्लो एक घण्टायता भने सुदूरपश्चिममा वर्षा कम र कर्णाली तथा लुम्बिनी प्रदेशमा बढी पानी परिरहेको विभागले जनाएको छ।
मुस्ताङ जिल्लामा मंगलबार रातिदेखि नै भारी हिमपात भइरहेको छ। जिल्लाका डाँडाकाँडा सेताम्मे बनेका छन् भने केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ। भारी हिमपातका कारण कागबेनी-कोरला सडक अवरुद्ध भएको छ।
त्यसैगरी हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोट जिल्लामा पनि मंगलबार रातिदेखि बाक्लो हिमपात भइरहेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ। हिमपातका कारण हवाई सेवा अवरुद्ध हुनुका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन्।
बाजुरामा पनि बडीमालिका, बुढीगंगा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका लेक क्षेत्रमा बाक्लो हिमपात भएको छ। हिमपातका कारण हिमाली गाउँपालिकाका विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट तथा बुढीनन्दाको कुरु गाउँमा जनजीवन प्रभावित भएको छ।
