चिनियाँ कम्युनिस्ट पार्टीको टोली नेपाल भ्रमण सकेर फर्कियो
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएको छ । पार्टी मुख्यालय बेइजिङअन्तर्गतको अन्तर्राष्ट्रिय विभागमा नेपाल मामिला हेर्ने निर्देशक झेङ युया (सरला) र उनका सहयोगी लिउ आइतबार सिचुआन प्रान्तको छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेका हुन् ।
नेपाल बसाइँका क्रममा उनीहरूले आगामी निर्वाचनअघि चीनबाट उच्च तहको राजनीतिक टोली नेपाल आउने सम्भावनाबारे यहाँका नेताहरूलाई जानकारी गराएका थिए । काठमाडौं आगमनको दिनमै प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पार्टीको विदेश विभाग प्रमुख शिखिर खनालसँग भेटवार्ता गरेको थियो । त्यसपछि नेपाली कांग्रेसका नेता गगनकुमार थापा र डा. नारायण खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उनका पूर्व परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटा, नेकपा एमालेका नेता विष्णु रिमाल र विष्णु रिजाल, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सोभित उप्रेतीसँग छुट्टाछुट्टै संवाद भएको थियो ।
फागुन २१ का लागि निर्वाचनको तयारी तीव्र बन्दै गएको समयमा भएको यस भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । चिनियाँ प्रतिनिधिहरूले निर्वाचन प्रक्रियामार्फत नेपालको राजनीतिक संक्रमण टुंगो लाग्ने र मुलुक स्थिरताको दिशामा अघि बढ्ने अपेक्षा व्यक्त गरेका थिए । चुनावपछि जुनसुकै शक्ति सरकारमा आए पनि चीनले मित्रवत् सम्बन्ध र सहकार्यलाई निरन्तरता दिने उनीहरूको भनाइ थियो ।
नेपाली भाषामा सहज संवाद गर्न सक्ने दुवै चिनियाँ नेताले नेपालका सबै राजनीतिक पक्षसँग चीनको सम्बन्ध सकारात्मक रहेको उल्लेख गरेका थिए ।
