नेपालसहित ७५ देशका लागि अमेरिकी आप्रवासी भिसा अनिश्चितकालका लागि स्थगित
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विश्वका ७५ देशका नागरिकका लागि आप्रवासी भिसा (स्थायी बसोबासका लागि दिइने भिसा) प्रक्रिया अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ। यो निर्णय आगामी जनवरी २१ (माघ ७) देखि लागू हुने जनाइएको छ।
फक्स न्युजका अनुसार अमेरिकी विदेश मन्त्रालयको एक आन्तरिक ज्ञापनपत्रका आधारमा यो निर्णय गरिएको हो। ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा आएपछि सार्वजनिक सहायता र सरकारी सुविधामा निर्भर हुन सक्ने सम्भावना उच्च रहेको ठहर गर्दै आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाएको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यस निर्णयको पुष्टि गरेका छन्।
विदेश मन्त्रालयले स्क्रिनिङ र जाँचसम्बन्धी मापदण्डहरूको पुनरावलोकन नसकिँदासम्म कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुनी अधिकार प्रयोग गरी आप्रवासी भिसा आवेदन अस्वीकार गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार पुनरावलोकन पूरा भएपछि मात्र यो स्थगन हटाइनेछ, तर त्यसको समयसीमा भने तोकिएको छैन।
यो नीति नोभेम्बर २०२५ मा जारी गरिएको मार्गदर्शनमा आधारित छ, जसले अमेरिकी अध्यागमन कानुनको ‘पब्लिक चार्ज’ प्रावधानलाई कडाइका साथ कार्यान्वयन गर्न जोड दिएको छ। उक्त प्रावधानअनुसार यदि कुनै आवेदक भविष्यमा अमेरिकामा सरकारी सहायता वा कल्याणकारी योजनामा निर्भर हुने देखिएमा उसको भिसा अस्वीकार गर्न सकिनेछ।
नयाँ निर्देशिकाअनुसार भिसा अधिकारीहरूले अब आवेदकको उमेर, स्वास्थ्य अवस्था, आर्थिक स्रोत, शिक्षा, सीप, पारिवारिक अवस्था, अंग्रेजी भाषाको ज्ञान र दीर्घकालीन उपचारको आवश्यकता जस्ता विषयमा गहन मूल्याङ्कन गर्नेछन्। विशेषगरी वृद्ध, दीर्घरोगी, आर्थिक रूपमा कमजोर वा विगतमा सरकारी सहायता लिएका व्यक्तिहरूले थप कडा जाँचको सामना गर्नुपर्ने जनाइएको छ।
प्रभावित देशहरूको सूचीमा नेपालसँगै अफगानिस्तान, इरान, इराक, रुस, सोमालिया, ब्राजिल, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, यमन, नाइजेरिया, इजिप्ट लगायत एशिया, अफ्रिका, युरोप र ल्याटिन अमेरिकाका दर्जनौं राष्ट्रहरू परेका छन्। एशियाली महादेशबाट मात्रै नेपालसहित २२ देश यस सूचीमा छन्।
विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको विदेश मन्त्रालयले यो निर्णय गत नोभेम्बरमा जारी गरिएको बृहत्तर आदेशको निरन्तरता भएको जनाएको छ। यसअघि पनि ट्रम्प प्रशासनले करिब ४० देशमा अध्यागमन तथा यात्रा प्रतिबन्ध लगाइसकेको थियो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ट्रम्प प्रशासनले अमेरिकी जनताको सम्पत्तिको दुरुपयोग गर्दै आएका व्यक्तिहरूबाट अमेरिकी अध्यागमन प्रणालीको संरक्षण गरिरहेको छ। ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया पुनः मूल्याङ्कन नभएसम्म स्थगित रहनेछ।”
यद्यपि, यो स्थगन गैर-आप्रवासी भिसा (पर्यटक, व्यापारिक वा छोटो अवधिका भिसा) मा भने लागू हुने छैन। तर गैर-आप्रवासी भिसा आवेदकहरूको पनि कडा जाँच गरिने जनाइएको छ। सबै दूतावास र कन्सुलर कार्यालयहरूलाई सार्वजनिक सहायता लिने सम्भावनाबारे पूर्ण स्क्रिनिङ गर्न छुट्टै निर्देशन पठाइएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि अहिलेसम्म १ लाखभन्दा बढी भिसा रद्द गरिएको छ। त्यस्तै, गृह सुरक्षा विभागले गत महिना मात्र ६ लाख ५० हजारभन्दा बढी व्यक्तिलाई देशनिकाला गरिएको र करिब २५ लाख जनाले स्वेच्छाले अमेरिका छाडेको जनाएको छ।
