थाइल्याण्डमा क्रेन भत्किँदा रेल दुर्घटना, २२ जनाको मृत्यु
काठमाडौँ । थाइल्याण्डमा निर्माणाधीन उच्च गतिको रेल परियोजनामा प्रयोग गरिएको क्रेन भत्किँदा गुज्रिरहेको यात्रुवाहक रेलमा ठोक्किएर ठूलो दुर्घटना भएको छ। दुर्घटनामा कम्तिमा २२ जनाको मृत्यु भएको एएफपी समाचार एजेन्सीले बुधबार स्थानीय प्रहरीलाई उद्धृत गर्दै जनाएको छ।
राजधानी बैंककबाट देशको उत्तरपूर्वी क्षेत्रतर्फ जाँदै गरेको रेल नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा दुर्घटनामा परेको हो। उक्त रेल बैंककबाट करिब २३० किलोमिटर उत्तरपूर्वमा पर्ने उबोन रत्चाथानी प्रान्ततर्फ गइरहेको थियो।
रोयटर्सका अनुसार उच्च गतिको रेल परियोजनामा काम गरिरहेको क्रेन अचानक भत्किएर गुज्रिरहेको रेलमा ठोक्किँदा रेल पटरीबाट खसेको थियो। दुर्घटनापछि रेलमा केही समय आगलागीसमेत भएको थियो।
प्रहरीका अनुसार आगो नियन्त्रणमा लिइसकिएको छ भने उद्धार तथा राहत कार्य जारी रहेको छ। दुर्घटनाको कारण र थप क्षतिको विवरणबारे अनुसन्धान भइरहेको जनाइएको छ।


