मन्त्रीहरू निष्पक्ष रहनुपर्छ, निर्वाचन सुनिश्चित छ : गृहमन्त्री अर्याल

तु खबर संवाददाता
२०८२ पुष २५, शुक्रबार ११:४७

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको प्रमुख म्यान्डेट तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पारेका छन्। गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले सरकार निर्वाचनमा पूर्ण रूपमा होमिइसकेको भन्दै निर्वाचन हुनेमा कुनै शङ्का नगर्न सबै पक्षलाई आग्रह गरे।

गृहमन्त्री अर्यालले जेन-जी आन्दोलन सुशासन कायम गर्नका लागि भएको उल्लेख गर्दै सरकार सुशासन स्थापित गर्न कटिबद्ध रहेको बताए। तोकिएको मितिमा निर्वाचन नभए देशले गम्भीर सङ्कटको सामना गर्न सक्ने चेतावनी दिँदै उनले सरकारले जसरी पनि तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने दोहोर्‍याए। साथै, सरकारले गरिरहेका कामप्रति हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन सम्बन्धित सबै पक्षसँग आग्रह गरे।

उनले अन्तरिम सरकारका मन्त्रीहरूलाई कुनै पनि दलप्रति ढल्कने छुट नभएको स्पष्ट गर्दै निष्पक्ष रूपमा काम गर्नुपर्नेमा जोड दिए। सिङ्गो देश निर्वाचन प्रक्रियामा केन्द्रित भइसकेकाले निर्वाचनको विषयमा आशङ्का नगर्न पनि उनले आग्रह गरे।

गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारमा रहेका मन्त्रीहरूको गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्ने तर्फ सचेत गराए। स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक साधन-स्रोतले सम्पन्न बनाउनुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्री बानियाँले कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगबाट फैलिन सक्ने भ्रामक समाचार र त्यसले आसन्न निर्वाचनमा पार्न सक्ने असरप्रति पनि ध्यानाकर्षण गराए। यस्ता भ्रम र गलत सूचनाबाट सचेत रहन गृह मन्त्रालय र सुरक्षा निकायलाई उनले विशेष आग्रह गरे।

बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री बानियाँसहित गृह तथा आन्तरिक मामिला मन्त्रालयका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको छ।