मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणबारे एनआरएनए अमेरिकाको खण्डन
काठमाडौं ।युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता अमेरिकाको भ्रमणमा जान लागेको समाचार सार्वजनिक भइरहेका बेला गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए) ले मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरिएको स्पष्ट पारेको छ।एनआरएनए अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गर्दै संस्थाको तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई कुनै कार्यक्रमका लागि निम्तो नदिइएको जानकारी दिएका हुन्।
विज्ञप्तिमा भनिएको छ, “गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन। साथै परिषद्को तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन।”प्रवक्ता उप्रेतीले परिषद् कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम वा कथित युवा कार्यक्रमसँग संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध नरहेको स्पष्ट पारेका छन्।
एनआरएनए एनसीसी यूएसएले आफ्नो नाम, ईआईएन नम्बर, वेबसाइट तथा डिजिटल पहिचानको दुरुपयोग गर्दै अनधिकृत कार्यक्रम सञ्चालन, फन्डरेजिङ तथा मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरू भइरहेको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको जनाएको छ। यस्ता गतिविधिले संस्थालाई गम्भीर कानुनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी जोखिममा पार्न सक्ने भएकाले विषयलाई संवेदनशील रूपमा लिइएको विज्ञप्तिमा उल्लेख छ।विज्ञप्तिमा थप भनिएको छ कि एनआरएनए एनसीसी यूएसएको आधिकारिक स्वीकृतिबिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण वा गतिविधि पूर्ण रूपमा अवैध र अमान्य ठहरिनेछन्। संस्थाको नाम र पहिचानको दुरुपयोग गर्ने व्यक्ति वा समूह स्वयं जिम्मेवार हुने र आवश्यक कानुनी कारबाही अगाडि बढाइने चेतावनी दिइएको छ।
यस विषयको गम्भीरतालाई ध्यानमा राख्दै यस्ता अनधिकृत गतिविधिहरूको सम्पूर्ण विवरण संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइने पनि एनआरएनए अमेरिकाले जनाएको छ।एनआरएनए एनसीसी यूएसएले सबै सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा समुदायका सदस्यहरूलाई यस्ता अनधिकृत गतिविधिप्रति सचेत रहन र आधिकारिक जानकारीका लागि मात्र संस्थाका मान्य माध्यमहरूमा भर पर्न अनुरोध गरेको छ।
