म्यादी प्रहरी भर्ना सुरु, माघ १ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ठूलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना खुलाएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले सूचना जारी गर्दै कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो।
सूचनाअनुसार भोलि शुक्रबारदेखि माघ १ गतेसम्म निर्वाचन प्रहरीका लागि आवेदन दिन सकिनेछ। सार्वजनिक बिदाका दिनसमेत दर्खास्त लिन सकिने नेपाल प्रहरीले जनाएको छ। आवेदन जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर तथा सबै जिल्ला प्रहरी कार्यालयबाट फारम लिई बुझाउन सकिने व्यवस्था गरिएको छ।
निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुक नेपाली नागरिकले आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। जन्ममिति २०२८ साल माघ १ गतेदेखि २०६४ साल माघ १ गतेसम्म परेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। साथै साधारण लेखपढ गर्न सक्ने, स्वस्थ रहेको, कुनै फौजदारी अभियोगमा नैतिक पतन हुने गरी अदालतबाट सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको तथा आतंककारी वा विध्वंसात्मक संगठनसँग सम्बन्ध नभएको हुनुपर्ने मापदण्ड तोकिएको छ।
नेपाल प्रहरीले निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति, छिमेकी वा विदेशी मुलुकका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिक तथा पछिल्लो समय विभिन्न सुरक्षा निकायको भर्नामा शारीरिक तथा स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिने जनाएको छ।
निर्वाचन प्रहरी ४० दिनका लागि भर्ना गरिनेछ। छनोट भएकाहरूलाई १० दिनको तालिमपछि करिब एक महिना निर्वाचन सुरक्षामा खटाइने सरकारको तयारी छ। उनीहरूले ४० दिनको तलब प्रहरी जवान सरह पाउनेछन्। साथै पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता तथा रासनसमेत नेपाल प्रहरी सरह उपलब्ध गराइनेछ, यद्यपि रासन जिल्ला अनुसार फरक पर्नेछ।
सरकारले निष्पक्ष, स्वतन्त्र र सुरक्षित निर्वाचन सम्पन्न गर्न आवश्यक जनशक्ति व्यवस्थापनका रूपमा ठूलो संख्यामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ।
