मुख्य मन्त्री यादवको अनुपस्थितिले मधेश प्रदेशसभा बैठक स्थगित

तु खबर संवाददाता
२०८२ मंसिर १७, बुधबार १०:५८
file-photo

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको अनुपस्थितिमै आज बिहान आह्वान गरिएको प्रदेशसभा बैठक विश्वासको मत प्रक्रियामा अघि बढ्न नसकेपछि स्थगित गरिएको छ। विश्वासको मत प्रस्तुति कार्यसूची रहेको बैठकमा सरकार पक्षबाट एकजनासमेत उपस्थित नभएपछि उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई प्रस्ताव पेस गर्न अनुमति दिएर बैठक आजै दिउँसो २ बजेसम्मका लागि स्थगित गरेको घोषणा गरेकी छन।बिहान ८:३० बजेका लागि सुचीकृत बैठक १०:३० बजे सुरु भए पनि मुख्यमन्त्री तथा मन्त्रीहरू अनुपस्थित रहेकाले प्रक्रियामा अवरोध आयो। सत्तापक्षका सांसदसमेत सभा कक्षमा उपस्थित नभएपछि बैठक अर्को समयसम्मका लागि स्थगन गरीएको छ।

मुख्यमन्त्री यादवले मंगलबार दिउँसो ३ बजे मात्र सर्वोच्च अदालतको परमादेश प्राप्त गरेको भन्दै बुधबार दिउँसो २ बजे विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाउन सचिवालयलाई पत्र लेखेका थिए। तर प्रदेशसभा सचिवालयले बिहान ८:३० बजे नै बैठक राखेकाले समयमै उपस्थित हुन नसकिएको उनको तर्क छ।यो अवस्थाले प्रदेशसभा बैठकमा झन् अन्योल थपिएको छ। लोसपाका सांसद उपेन्द्र महतोका अनुसार विश्वासको मत प्रस्तुत गर्ने प्रमुख पात्र नै समयमा नआएपछि बैठक ढिलाइ हुन बाध्य भयो।

सर्वोच्च अदालतले सोमबार साँझ प्रदेशसभा ठूलो दल एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानको धारा १६८(३) बमोजिम नियुक्त मुख्यमन्त्रीका रूपमा २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। अदालतको आदेशअनुसार मुख्यमन्त्रीले आज विश्वासको मत लिनुपर्ने भए पनि सचिवालय र मुख्यमन्त्रीबीच समय तालिकामा उत्पन्न असमझदरी कारण प्रक्रिया अघि बढ्न सकेन।प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३(४) अनुसार मुख्यमन्त्रीले वक्तव्यसहित विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ। अब विश्वासको मत प्रक्रिया दिउँसो २ बजे सुरु हुनेछ।