नेपाल-अमेरिका सहकार्य : ४०० केभी सबस्टेसन र प्रसारण लाइन निर्माण
काठमाडौं । एमसीए नेपालले न्यु बुटवल सबस्टेसन तथा १८ किलोमिटर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ। बुधबार नवलपरासीको सुनवल-१३ सूर्यबस्तीमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले संयुक्त रूपमा शिलान्यास गरे।
एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको यो आयोजना नेपालका पूर्वाधार विकासमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको छ। कार्यक्रममा एमसीसीका आवासीय निर्देशक डायन फ्रान्सिस्को, एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।
राजदूत थम्प्सनले नेपाल-अमेरिका सहकार्यले ऊर्जा सुरक्षासँगै आर्थिक तथा सामाजिक विकासमा नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गर्दै प्रसारण लाइन र सबस्टेसनजस्ता पूर्वाधारले बत्ती बाल्ने सुविधा मात्रै बढाउने होइन, व्यापार, वृद्धि र समृद्धिका मार्ग पनि खोल्ने बताए।
एमसीए-नेपालका कार्यकारी निर्देशक विष्टले ४०० केभी क्षमताको न्यू बुटवल सबस्टेसनलाई नेपाल-भारत सीमा नजिकै जोड्ने १८ किमि प्रसारण लाइनले ऊर्जा व्यापार विस्तारमा निर्णायक योगदान पुर्याउने बताए। करिब पाँच करोड अमेरिकी डलरको लागतमा निर्माण हुँदै गरेको यो संरचनाले नेपालले आगामी दशकमा लक्ष्य लिएको १० हजार मेगावाट विद्युत् निर्यात योजनालाई सहज बनाउने अपेक्षा गरिएको छ।
अर्थमन्त्री खनालले स्वच्छ ऊर्जा विस्तार, क्षेत्रीय ऊर्जा व्यापार वृद्धि तथा दीर्घकालीन आर्थिक प्रगतिलाई सहयोग गर्ने राष्ट्रिय प्राथमिकता यस आयोजनामा स्पष्ट रूपमा झल्किएको बताए। परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।
