पद्मकन्या कलेजको क्यान्टिनमा महानगरको छापा
काठमाडौँ । पद्मकन्या कलेजको क्यान्टिन र छात्रावासको भोजनगृहमा खाद्य स्वच्छता अत्यन्त कमजोर देखिएको छ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा क्यान्टिनदेखि भोजनगृहसम्म आधारभूत स्वच्छता व्यवहारमै कमजोरी भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिए। वडा नम्बर २८, बागबजारमा पर्ने कलेज परिसरभित्रै衛 खाद्य सुरक्षासम्बन्धी नियम–मापदण्ड पालना नगरेको स्पष्ट देखिएको अनुगमन टोलीको भनाइ छ।
अनुगमनमा सहभागी फुड टेक्नोलोजिष्ट अशोक पराजुलीका अनुसार बागेश्वरी चमेनागृहका नामबाट सञ्चालन भइरहेको क्यान्टिनमा जालीदार टोपी, पञ्जा र एप्रोनको प्रयोग नभएको, तयारी खाद्य पदार्थ छोपेर नराखिएको र फ्राइ गर्ने कराइ अत्यन्त पुरानो भएको पाइयो। आगोजन्य जोखिम न्यूनिकरणका उपकरणसमेत नरहेको, साथै चमेना गृह व्यवसाय दर्ता नै नगरिएको पनि पुस्टि गरिएको बताइयो। अनुगमनका क्रममा म्याद गुज्रिएको ७ सय ग्राम चाउमिन तत्काल नष्ट गरिएको थियो।
कलेजको आवासीय छात्राहरूका लागि सञ्चालनमा रहेको भोजनगृहसमेत अस्वच्छ देखिएको अनुगमन टोलीले जनाएको छ। स्टोर कोठामा खाद्य सामग्री अव्यवस्थित रूपमा राखिएको, भान्साको धुवाँ निकास गर्ने पंखा बिग्रिएको र खाना बनाउने ठाउँमा कालो फोहर जमेको अवस्थाले गम्भीर लापरबाहीको संकेत गरेको छ। भान्सामा कीट नियन्त्रणका कुनै उपाय नअपनाइएको र यो भोजनगृह पी.के. चमेना गृह एण्ड रेस्टुरेन्टले सञ्चालन गरिरहेको पुस्टि गरिएको छ।
कलेजमा राखिएको पानी शुद्धिकरण प्रविधि (वाटर ट्रिटमेन्ट प्लान्ट) मा पानी नै नहुँदा यसको आसपास फोहोर र धुलोले ढाकिएको अवस्था भेटियो। यद्यपि कलेजका छात्राहरूले पिउने पानीको एमोनिया परीक्षण गर्दा एमोनिया रहित रहेको खाद्य अनुसन्धान अधिकृत बुद्धबहादुर कुँवरले जानकारी दिए। अनुगमनपछि कलेजका सहायक प्राचार्य विमला नेपालले देखिएका कमजोरी सुधार गर्ने प्रतिबद्धता जनाइन्।
अनुगमन टोलीले क्यान्टिन र भोजनगृहलाई तत्काल कीट नियन्त्रण प्रणाली व्यवस्था गर्न, सरसफाइ र स्वच्छतामा ध्यान दिन, लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्न तथा अनुमति प्राप्त उद्योगबाट उत्पादित खाद्य सामग्री मात्र प्रयोग गर्न निर्देशन दिएको छ। साथै आगो जोखिम न्यूनीकरणका आवश्यक उपकरण जडान गर्न र खाद्य अनुज्ञा प्राप्त वस्तु मात्र विक्री वितरण गर्न पनि कडा सुझाव दिइयो।
अनुगमनका क्रममा बागबजारमै सञ्चालन भएका विमला स्वीट्स एण्ड चार्ट हाउस तथा बज्रयोगिनी भोजनालय एण्ड खाजा घरको समेत निरीक्षण गरिएको थियो। विमला स्वीट्स एण्ड चार्ट हाउसले फास्टफुड सञ्चालन अनुमतिमा नै मिठाइजन्य वस्तु विक्री गरिरहेको र त्यसका लागि छुट्टै अनुमति नलिएको पाइएपछि मिठाइजन्य खाद्यवस्तु बिक्रीका लागि व्यवसायिक अनुमति लिन निर्देशन दिइएको छ। ती दुवै व्यवसायमा मसीजन्य कागज ब्याग प्रयोग, डस्टबिन नछोपी राख्ने, कीट व्यवस्थापनमा ध्यान नदिने तथा आगोजन्य जोखिम न्यूनिकरणका उपकरण नजडान गर्ने जस्ता कमजोर पक्षहरू देखिएका अनुगमन टोलीले जनाएको छ।



