पशुपतिक्षेत्रमा आजदेखि बाला चतुर्दशी मेला

तु खबर संवाददाता
२०८२ मंसिर २, मंगलवार १०:१५

काठमाडौँ । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिनदेखि दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने बाला चतुर्दशी मेला आजदेखि पशुपति क्षेत्रमा सुरु भएको छ। त्रयोदशीको बिहानैदेखि पशुपतिक्षेत्रमा भक्तजनको भीड जुट्दै गएसँगै पितृका नाममा बत्ती बाल्ने र दीपदान गर्ने धार्मिक विधि सुरु भएको छ। बेलुकी भक्तजनहरूले विधिपूर्वक बत्ती बालेर अखण्ड दीपदान बस्ने परम्परा अनुसार आज रातभर पशुपतिक्षेत्र दीपमय हुनेछ।

बाला चतुर्दशी मेलाको मूल आधार भगवान् शिवले मृगरूप धारण गरी मृगस्थली क्षेत्रमा विहार गरेको किम्वदन्तीसँग जोडिन्छ। किम्वदन्तीअनुसार शिवलाई चिन्न पार्वतीले विभिन्न बीज छरेकी थिइन् र ती बीज अंकुरिएपछि मृगको बथानमा शिवलाई पहिचान गर्न सकिन्। यही प्रसंगको स्मरणमा चतुर्दशीका दिन बीज छर्ने प्रथा कायम छ। त्रयोदशीको रात अखण्ड दीपदान बसेका भक्तजनले भोलि—मार्गशीर्ष कृष्ण चतुर्दशीको बिहान—दिवङ्गत पितृको चिरशान्तिको कामना गर्दै शतबीज छर्न जानेछन्।

शतबीज भनिए पनि हाल धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो गरी सप्तबीज छर्ने चलन छ। भक्तजनले यी बीज लिएर मृगस्थली पुग्दा बहिरा गणेश नजिक पुगेपछि गणेशको शिलालाई हल्का हल्लाउँदै दिवङ्गत आत्माले सन्देश पाउन सकून् भनी ठूलो स्वरमा प्रार्थना गर्ने परम्परा रहिआएको छ।

दिवङ्गत पितृको मोक्ष तथा चिरशान्तिको कामनासहित भक्तजनले १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप, किराँतेश्वरलगायत ठाउँमा शतबीज छर्छन्। प्रत्येक वर्षझैं यस वर्ष पनि बिहानैदेखि भक्तजनको लर्को पशुपति क्षेत्रमा देखिएको छ र मेलाले सम्पूर्ण क्षेत्र धार्मिक श्रद्धा, सम्झना र पितृप्रेमले भरिएको वातावरणमा परिवर्तित भएको छ।