एनपीएल–२ आजदेखी, उद्घाटन खेलमा जनकपुर–काठमाडौंको भिडन्त
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ। मंसिर २७ गतेसम्म चल्ने यो प्रतियोगितामा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टोली सहभागी छन्। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र घरेलु टोली काठमाडौं गोर्खाज अपराह्न ४ बजेदेखि आमनेसामने हुनेछन्। उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेका छन्।
यस वर्ष त्रिवि मैदानमा १० हजार दर्शक क्षमता रहेको नयाँ प्यारापिट र ६ वटा फ्लडलाइट जडान गरिएकाले दर्शकले अझै आकर्षक माहोलमा खेल हेर्ने मौका पाउनेछन्। गत संस्करण सामान्य मैदानमा सम्पन्न भए पनि यसपटक भव्य संरचनासहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। गत सिजनको फाइनलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो र यसपटक पनि सोही नतिजा दोहोर्याउने लक्ष्यसहित जनकपुर मैदान उत्रन तयारी अवस्थामा छ।
काठमाडौँ गोर्खाजको टोलीमा कप्तान करण केसीसहित भीम सार्की, रशिद खान, प्रतीक श्रेष्ठ, दीपेश कँडेल, मोहम्मद आदिल आलम, साहव आलम, तुलबहादुर थापा, उत्तम थापा मगर, सन्तोष यादव, आकाश त्रिपाठी, रिकार्डो भास्कोनेसेलोस, जेरहार्ड इरसमस, जोहन सिम्पसन, मिलिन्द कुमार, सन्नी पटेल, बेन चार्ल्सवर्थ र सोनु देवकोटा रहेका छन्। त्यस्तै, जनकपुर बोल्ट्सको टोलीमा अनिलकुमार शाह, आशिफ शेख, ललित नारायण राजवंशी, तुलबहादुर थापा मगर, विकास अग्री, शुभ कंसाकार, सचिन भट्ट, रुपेश कुमार सिंह, किशोर महतो, मयन यादव, आदित्य महत, लाहिरु मिलान्था, जान निकोल लफ्टी–इटोन, लाहिरु समरकोन, वांग्ले प्रनिल, सञ्जय कृष्णमुर्ति, संगीत कोरे, इमरान ताहिर र पप्पु यादव रहेका छन्।
क्रिकेटप्रेमीहरू दोस्रो सिजनको एनपीएल सुरु हुन लागेसँगै उत्साहित देखिएका छन्। प्यारापिटमा बसेर फ्लडलाइटको उज्यालोमा क्रिकेट हेर्न पाउने अवसरले समर्थकमा थप आकर्षण बढेको छ। आजको खेलसँगै एनपीएल–२ आधिकारिक रुपमा सुरु हुँदैछ।



