भारतबाट २८३ मेगावाट विद्युत् निर्यात स्वीकृति नवीकरण

तु खबर संवाददाता
२०८२ कार्तिक १३, बिहीबार १३:२३
file-photo

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारततर्फ निर्यात गर्दै आएको २ सय ८३ मेगावाट विद्युत् निर्यात अनुमतिको नवीकरणका लागि स्वीकृति पाएको छ।भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरण ले बुधबार नेपालका आठ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यातका लागि यसअघि दिइएको स्वीकृतिलाई नवीकरण गरेको हो।

नेपाल विद्युत् प्राधिकरणले देशभित्रको माग पूरा गरेपछि बाँकी विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ। साथै, द्विपक्षीय मध्यकालीन सम्झौता अन्तर्गत हरियाणा र बिहार राज्यमा पनि विद्युत् बिक्री भइरहेको प्राधिकरणले जनाएको छ।त्यस्तै, भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा समेत विद्युत् निर्यात भइरहेको छ।

आईईएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्ने स्वीकृति पाएका चार आयोजनाको अनुमति नवीकरण भएको छ। ती आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् निर्यात स्वीकृति विभिन्न मितिमा सकिएको थियो। सबै आयोजनाको अनुमति गत मङ्गलबारदेखि लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण गरिएको हो।यसअघि, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय सौर्य गठबन्धन को आठौँ सभामा सहभागी हुने क्रममा भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टरसँग भेटवार्ता गरेका थिए।

भेटमा मन्त्री घिसिङले विद्युत् निर्यात स्वीकृतिको प्रक्रिया सहज बनाउन आग्रह गर्दै, “नेपालमा विद्युत् उत्पादनको सबैभन्दा राम्रो समय यही हो, त्यसैले नवीकरणका लागि पठाइएको प्रस्तावलाई तत्काल स्वीकृति दिनुपर्छ,” भन्ने अनुरोध गरेका थिए।भारतको केन्द्रीय विद्युत् प्राधिकरणले सोही पहलका आधारमा स्वीकृति नवीकरण गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।