शेयर बजारमा सुधार : लगानीकर्तामा उत्साह
काठमाडौँ । आज शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। अघिल्ला दुई कारोबार दिनमा सामान्य सुधारको संकेत देखिएको बजार आज भने पूर्ण रूपमा हरियालीमा बाँधिएको छ। बजारमा आएको यस सुधारसँगै लगानीकर्तामा उत्साह छाएको छ।
नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय क्रमशः शेयर बजारप्रति सकारात्मक देखिँदै गएका छन्। राष्ट्र बैंकले बजारलाई अवरोध गर्ने नीतिहरू फुकाउँदै लगेको र लगानी वातावरण सुधारिँदै गएको अनुभूति लगानीकर्ताले गरेका छन्। यसले लगानीकर्ताको मनोबल उच्च बनाएको छ र बजारप्रति विश्वास पुनःस्थापित भएको देखिन्छ।
तर, केही लगानीकर्ताले भने बजारको यो हरियालीलाई सतही र अस्थायी रूपमा लिएका छन्। उनीहरूको भनाइमा अस्थिर राजनीतिक परिस्थितिका कारण बजारमा आएको सुधार दीर्घकालीन हुन नसक्ने सम्भावना रहन्छ। हालको राजनीतिक अस्थिरता, जेन जी आन्दोलनपछि बनेको सरकारले अपेक्षित सुधारका कदम चाल्न नसकेको अवस्था र संसद पुनःस्थापनाको मागले समेत बजारमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको उनीहरूको तर्क छ।
विश्लेषकहरूले पनि चेतावनी दिँदै भनेका छन् कि अस्थिर राजनीतिक अवस्थामा बजारमा देखिएको ह्वात्तै सुधार माफियाहरूको चलखेलको परिणाम हुनसक्छ। त्यसैले लगानीकर्ताले उत्साहमा आएर अन्धाधुन्ध लगानी नगरी सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ६२.२९ अंकले बढ्दै २५७१.३४ बिन्दुमा पुगेको छ। ३१४ कम्पनीका ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ बराबर भएको छ।
आजका सबै १२ उपसूचक हरियालीमा देखिएका छन्। तीमध्ये वाणिज्य बैंक समूह १.९२ प्रतिशत, विकास बैंक समूह ४.४७ प्रतिशत, फाइनान्स समूह ३.१४ प्रतिशत, र होटल तथा पर्यटन समूह २.८० प्रतिशतले उक्लिएका छन्।
बजारको यो सुधारले नयाँ लगानीकर्तालाई आकर्षित गरेको छ भने दीर्घकालीन लगानीकर्तामा पनि नयाँ जोश थपेको देखिन्छ। तर, विशेषज्ञहरूका अनुसार, राजनीतिक स्थिरता कायम नभएसम्म बजारको सुधारलाई दीर्घकालीन रूपमा मूल्याङ्कन गर्न हतार गर्न नहुने सुझाव दिएका छन्।



