पश्चिमी वायुको प्रभावः उच्च हिमाली क्षेत्रमा व्यापक हिमपात
काठमाडौं । एकाएक मौषममा आएको परिवर्तनसँगै देशका उच्च पहाडी भागहरूमा व्यापक हिमपात सुरु भएको छ । मुस्ताङको मुक्तिनाथ, मनाङको ट्याङ्की मनाङ लगायतका क्षेत्रमा अहिले व्यापक हिमपात भइरहेको स्थानीयहरूले जनाएका छन् ।
जल तथा मौषम विभागका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपात हुने सम्भावना रहेको छ । विभागले पश्चिमी वायुको प्रभावका कारण मुस्ताङ, मनाङ, डोल्पा, हुम्ला लगायत क्षेत्रमा भारी हिमपात हुनसक्ने जनाएको छ ।
मुस्ताङ प्रशासनले समेत नयाँ यात्रुहरूलाई मौसम सामान्य नहुँदासम्म मुस्ताङ भ्रमणमा ननिस्कन आग्रह गरेको छ ।
विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण सुरु भएको यो हिमपात क्रमशः उत्तरी गोरखा, धादिङ, रसुवा हुँदै पूर्वतर्फ सर्दै जाने अनुमान गरिएको छ ।
जल तथा मौषम विभागका सूचना अधिकारी दिनकर कायस्थले भने, “काठमाडौं उपत्यकाभित्र भने हिउँ पर्नको सम्भावना छैन, तर वरपरका अग्ला पहाडहरूमा हिउँ पर्न सक्छ।”
यसै आधारमा काठमाडौं उपत्यका नजिकका नागार्जुन, शिवपुरी, फुलचोकी लगायतका अग्ला पहाडहरूमा पनि हल्का हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।
