मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज विश्वासको मत लिँदै
काठमाडौं ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज (असोज २८ गते) विश्वासको मत लिँदै छन्। दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन्।
२५ जेठ २०८२ मा नेकपा (एमाले) र माओवादी केन्द्रसहित ६ दलका ५५ सांसदको समर्थनमा जनमत पार्टीबाट सिंह मुख्यमन्त्री बनेका थिए। तर, पछि केन्द्रमा कांग्रेस–एमालेको नयाँ गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिए र असार १२ गते नेपाली कांग्रेसले सिंहलाई विश्वासको मत दिएको थियो।
तर, पछिल्ला राजनीतिक परिवर्तनसँगै जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई राजीनामा दिन दबाब दिँदै आएको थियो। परिस्थितिअनुसार सिंहले राजीनामा नदिने अडान लिएका थिए।
गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभामा पत्र लेख्दै विश्वासको मतका लागि मिति तोकिदिन अनुरोध गरेका थिए। सोही अनुरोधअनुसार आज असोज २८ गते दिउँसो एक बजे प्रदेश सभा बैठक बोलाइएको मधेश प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिएका छन्।
यसअघि भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ चर्किएको बेला सिंहले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए। तर, पछि उनले विषम परिस्थितिमा जनधनको क्षति नहोस् भन्ने उद्देश्यले मात्रै सो घोषणा गरेको भन्दै पद नछोड्ने अडान लिएका थिए।
संविधानको धारा १८८ को उपधारा (२) अनुसार विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको हो।
जनमत पार्टीले गत भदौ ३१ गते मुख्यमन्त्री र मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको थियो, जसपछि प्रदेशमा पुनः राजनीतिक तरलता बढेको हो।



