सामाजिक सञ्जाल नियमनमा काउन्सिल गम्भीर बन्नुपर्ने सञ्चारमन्त्री खरेलको भनाइ
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक ठूलो शून्यतामा जाने सक्ने जोखिम अझै कायमै रहेको बताएका छन्। उनले मुलुकलाई ट्रयाकभन्दा बाहिर जान नदिन सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए।
काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा मन्त्री खरेलले प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई अधिकार सम्पन्न र स्वायत्त निकायका रूपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न सुझाव दिए।
उनले नागरिकस्तरबाट सञ्चालन भइरहेका व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूलाई राज्यका निकायले अनुगमन र नियमन गरेर आवश्यक कारबाहीको दायरामा ल्याउन काउन्सिल गम्भीर बन्नुपर्ने पनि बताए।
जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारका मन्त्री खरेलले दुई दिने आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने विषयमा सरकार गम्भीर रहेको स्पष्ट पारे। उनले निर्वाचन सुनिश्चित गर्ने काममा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुलुकलाई भ्याकुममा जान नदिन सबै पक्षको सहकार्य जरुरी भएको बताए।
