पश्चिमी वायुको प्रभावले देशका पश्चिम भू–भागमा वर्षा

तु खबर संवाददाता
२०८२ आश्विन २१, मंगलवार ०९:४२

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव देखिएको हो ।

विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली रहँदा बाँकी तराई भू–भागमा आंशिक बदली देखिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराई भू–भागमा साथै बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभाव आज र भोलि पनि जारी रहने भएकाले पश्चिम नेपालका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र अन्य भागमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

यस्तै, बाढी पूर्वानुमान महाशाखाले जुम्ला, मुगु, डोल्पा, हुम्ला, बझाङ, दार्चुला र आसपासका जिल्लाबाट बग्ने स–साना नदीहरूको बहाव बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको चेतावनी दिएको छ ।

आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ । बाँकी तराई भू–भागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ ।