मन्त्री घिसिङ र अर्यालसहितको उच्चस्तरीय टोलीको इलाम भ्रमण स्थगित
काठमाडौं । असोज १८र १९ गतेको भीषण वर्षाले इलाममा ठूलो जनधनको क्षति भएको छ । हालसम्म उक्त घटनामा ३७ जनाको मृत्यु भइसकेको छ भने कयौं घाइते र बेपत्ता छन् । पहिरो र बाढीका कारण राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरू भत्किएर क्षतविक्षत भएका छन् ।
उक्त विपद्ग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्न मन्त्री घिसिङ र अर्यालसहित उच्चस्तरीय सरकारी टोली आज इलाम जाने तयारीमा थियो । गृह सचिव, ऊर्जा सचिव र भौतिक पूर्वाधार सचिव समेत सहभागी रहने उक्त टोली काठमाडौंबाट झापाको भद्रपुरसम्म नियमित उडानमार्फत जाने र त्यहाँबाट हेलिकप्टरमार्फत इलाम पुग्ने कार्यक्रम तय गरिएको थियो ।
तर, नियमित हवाई उडानका लागि टिकट नपाएपछि भ्रमण स्थगित भएको निकट स्रोतले जनाएको छ । टोलीलाई बिहान ११ बजे प्रस्थान गर्ने तयारी गरिएको थियो । “११ बजेभन्दा अगाडिको टिकट पाउने भएमा अगाडि नै जाने भन्ने तयारी थियो, तर टिकट नपाएपछि आजको इलाम भ्रमण रद्द गरिएको स्रोतले जानाएको छ ।
सरकारले अब हवाई व्यवस्थापन मिलाएर अर्को मितिमा टोलीलाई इलाम पठाउने तयारी गरिरहेको बताइएको छ ।
