मनसुन जोखिम बीच राजमार्गमा आवागमनमा कडाइ, रातभर सवारी बन्द

तु खबर संवाददाता
२०८२ आश्विन १९, आईतवार १६:२०

काठमाडौं । चितवन प्रहरीले आज साँझ ६ बजेभित्र मुग्लिन–नारायणगढ सडकखण्ड हुँदै यात्रा गरिरहेका सवारीसाधनहरूलाई आफ्नो गन्तव्यमा पुगिसक्न तथा उक्त क्षेत्र कटिसक्न आग्रह गरेको छ। मौसम पूर्वानुमान अनुसार पहिरोको जोखिम कायम रहेकाले रातको समयमा सवारी सञ्चालनमा कडाइ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार सूचना जारी गर्दै आज साँझ ६ बजेदेखि रातभर उक्त सडकखण्डमा सवारी सञ्चालन नगर्न अनुरोध गरेको हो। प्रहरीका अनुसार गएरातिदेखि वर्षा रोकिए पनि पहिरो खस्ने जोखिम यथावत् रहेको छ।

यस्तै, काठमाडौंको प्रमुख नाका नागढुंगाबाट छुट्ने रात्रिबसहरू पनि साँझ ५ बजेभित्र नै बाहिरिइसक्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले टोखा, नागढुंगा र फर्पिङ नाका एकतर्फी सञ्चालन गर्ने निर्णय गरिसकेको छ।

चितवनस्थित ट्राफिक प्रहरीले २०८२ असोज १८, १९ र २० गतेसम्म मनसुनजन्य जोखिम उच्च रहने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ। हाल राजमार्गमा सवारी सञ्चालन भइरहेको भए पनि मौसमको अवस्था बिग्रन सक्ने भएकाले बेलुका ६ बजेपछि सवारी साधनहरू ‘सेफ्टी होल्डिङ स्पेस’मा रोकिएर बस्नुपर्ने सूचनामा उल्लेख छ।

प्रहरीका अनुसार मौसम र सडक अवस्था मूल्याङ्कन गरेर आवागमनसम्बन्धी अर्को सूचना पछि जारी गरिनेछ। यात्रु तथा चालकहरूलाई सचेत रहन र ट्राफिक नियमपालन गर्न अनुरोध गरिएको छ।