प्रमुखलाई कार्यालयमा अनिवार्य उपस्थित हुन सरकारको निर्देशन

तु खबर संवाददाता
२०८२ आश्विन १८, शनिबार १४:२०

काठमाडौँ । सरकारले जिल्लास्तरका सबै कार्यालय प्रमुखहरूलाई अनिवार्य रूपमा कार्यस्थलमै उपस्थित हुन निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार सूचना जारी गर्दै जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई समेत कार्यस्थलमा उपस्थित हुने व्यवस्था मिलाउन पत्राचार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले आपत्कालीन तयारीका लागि यस्तो निर्देशन दिइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार कार्यालय प्रमुखहरूले असोज १८ गते अर्थात् आजैसम्ममा कार्यस्थल पुगेर पूर्वतयारी तथा प्रतिकार्यको काममा जुट्नुपर्ने संघीय मामिला मन्त्रालयले जनाएको छ ।