लामो दूरीका यातायात तीन दिनका लागि बन्द, यात्रुलाई सुरक्षित घरमै बस्न आग्रह

तु खबर संवाददाता
२०८२ आश्विन १८, शनिबार १०:२१
file-photo

काठमाडौँ । लगातार वर्षासँगै उत्पन्न हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरण गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको छ ।

प्राधिकरणले शनिबार बिहान जारी गरेको अत्यन्त जरुरी सूचनामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधन तथा काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन असोज १८ देखि २० गतेसम्म बन्द गरिएको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आगामी तीन दिनसम्म भारी वर्षा पर्ने सम्भावना रहेकाले यस्तो निर्णय गरिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

‘भारी वर्षा र अति भारी वर्षाबाट हुन सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न यातायात बन्द गर्ने निर्णय गरिएको हो,’ प्राधिकरणको सूचनामा भनिएको छ । यस अवधिमा अत्यावश्यकबाहेक कुनै पनि लामो दूरीका वा उपत्यका आवतजावत गर्ने सवारीसाधन सञ्चालन नगर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

यातायात व्यवसायी, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई उक्त निर्देशन पालना गर्न र निरन्तर अनुगमन गर्न आग्रह गरिएको छ । साथै, यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै प्राधिकरणले सुरक्षित रहन, घरमै बस्न र विपद्सम्बन्धी आधिकारिक तथा अद्यावधिक सूचना रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत प्राप्त गर्न अनुरोध गरेको छ ।