चितवनको मुग्लिन क्षेत्रमा पहिरोको जोखिम, राजमार्गमा सवारी आवागमन बन्द

काठमाडौं। निरन्तर भइरहेको वर्षाका कारण चितवनको मुग्लिनस्थित तुइन खोलालगायतका क्षेत्रमा ढुंगा खस्ने घटना दोहोरिन थालेपछि आज बिहानदेखि पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ६:०० बजेदेखि यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै सवारी सञ्चालन रोकिएको हो। तुइन खोलामा आएको पहिरो र निरन्तर ढुंगा खस्ने जोखिम उच्च रहेको भन्दै तत्कालका लागि राजमार्गमा यात्रु तथा सामान ढुवानी गर्ने गाडीलाई रोकिएको बताइएको छ।
सडक अवरुद्ध भएपछि काठमाडौं–पोखरा–चितवन हुँदै आउने जाने यात्रुहरू प्रभावित भएका छन्। सवारी रोकिएपछि सयौं यात्रु बाटामै अलपत्र परेका छन्। सडक अवरुद्ध हटाउन डिभिजन सडक कार्यालय, सुरक्षा निकाय र सम्बन्धित प्राविधिक टोली खटिएको चितवन प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।
सडक मर्मत तथा जोखिम नियन्त्रणका काम सम्पन्न भएसँगै सवारी आवागमन पुनः सुचारु हुने जनाइएको छ। आवागमन खुल्नेबित्तिकै सम्बन्धित निकायले पुनः जानकारी गराउने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
निरन्तर पानी परिरहेको र ढुंगा खसिरहेकाले थप जोखिम हुने देखिएको छ। जिल्ला प्रशासनले यात्रु तथा स्थानीयलाई अनावश्यक यात्रा नगर्न र सतर्क रहन आग्रह गरेको छ।