गृहमन्त्री अर्यालद्वारा विपद् जोखिम न्यूनीकरणमा तयारी अवस्थामा रहन निर्देशन

तु खबर संवाददाता
२०८२ आश्विन १७, शुक्रबार १८:४३

काठमाडाै। गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि सुरक्षा निकायलाई सदैव तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

शुक्रबार नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमणका क्रममा मन्त्री अर्यालले सम्भावित विपद्का कारण हुन सक्ने जनधनको क्षति नियन्त्रण र न्यूनीकरणका लागि उच्च मनोबलसहित कर्तव्यनिष्ठ भई जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्नेगरी सतर्क रहनुपर्नेमा जोड दिए ।

उनले सीमित स्रोतसाधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न प्रेरित गरे ।

कार्यक्रममा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका पदाधिकारीहरूले विपद् जोखिम न्यूनीकरणमा भइरहेका प्रयास र आगामी योजनाबारे जानकारी दिएका थिए ।