पृथ्वी राजमार्गमा पहिरोको जोखिम, अनावश्यक यात्रा नगर्न आग्रह

काठमाडौं । चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालयले संयुक्त विज्ञप्ति जारी गर्दै यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणगढ र मुग्लिन–नागढुंगा सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो खस्दा सवारी आवागमनमा समस्या देखिएको भन्दै प्रशासनले यात्रामा अनावश्यक जोखिम नलिन अनुरोध गरेको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार असोज २० गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेकाले त्यस्तो अवस्थामा सडक अझ अवरुद्ध वा जोखिमपूर्ण बन्न सक्ने भएकाले यात्रुहरुले यात्रा टार्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइएको छ। विज्ञप्तिमा अत्यावश्यक बाहेक लामो दूरीका यात्रा नगर्न, अनावश्यक ठूलो सवारी साधन सञ्चालन नगर्न र यात्राका क्रममा समस्या आएमा सुरक्षाका निकाय वा स्थानीय प्रशासनलाई जानकारी दिन अनुरोध गरिएको छ।
प्रशासनले सडकको अवस्थाबारे थप जानकारी लिन र गुनासो गर्न सम्बन्धित निकायका सम्पर्क नम्बर सार्वजनिक गरेको छ। वर्षात्को समयमा पृथ्वी राजमार्गमा निरन्तर पहिरो खस्दा यात्रुहरुले लामो समयसम्म बाटोमै अल्झिनुपर्ने अवस्था दोहोरिरहेकाले यस वर्ष पनि उच्च सतर्कता अपनाउन र सुरक्षित रहन सबैलाई अपिल गरिएको छ।