शेयर बजारमा आएको गिरावट रोक्न ६ बुँदे मागसहित लगानीकर्ताको संयुक्त ज्ञापनपत्र

काठमाडौं । शेयर बजारमा निरन्तर आएको अस्वाभाविक गिरावटप्रति चिन्ता व्यक्त गर्दै लगानीकर्ताका विभिन्न संघ–संस्थाले नेपाल राष्ट्र बैंकलाई आवश्यक कदम चाल्न माग गरेका छन्। नेपाल पूँजीबजार लगानीकर्ता संघ, शेयर लगानीकर्ता संघ नेपाल र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघले संयुक्तरूपमा राष्ट्र बैंकका गर्भनरलाई ज्ञापनपत्र बुझाउँदै लगानीकर्ताको हित सुरक्षित गर्न, बजारलाई स्थिर बनाउन र पूँजी बजारप्रति विश्वास पुनःस्थापना गर्न तत्काल पहल गर्न आग्रह गरेका हुन्।
ज्ञापनपत्रमा भनिएको छ, पछिल्लो राजनीतिक घटनाक्रमका कारण २०८२ साल असोज २ गतेदेखि खुलेको शेयर बजार निरन्तर गिरावटतर्फ उन्मुख छ। कुनै पनि विशेष कारणबिनै बजार खुलेको पहिलो दिनमै ६ प्रतिशत नकारात्मक सर्किट लागी करिब ३२ अर्ब रुपैयाँ बराबरको कारोबारमा ह्रास आएको र नेप्से सूचकांक एकैपटक १६० अंकभन्दा बढीले घटेको उल्लेख छ। यसरी भएको गिरावटले तीन दशकको पूँजीबजारमा लगानीकर्ताको विश्वास गुम्ने खतरा देखिएको ज्ञापनपत्रमा भनिएको छ।
लगानीकर्ताहरूले अनावश्यक गिरावटका कारण आम लगानीकर्तामा मानसिक आघात पुगेको, पूँजी बजारमाथि विश्वास गुमाएको र यसले अर्थतन्त्रमा समेत दीर्घकालीन असर पार्ने चेतावनी दिएका छन्। २०७२ सालको भूकम्प, कोभिड–१९ महामारीलगायतका विपतका बेला समेत बिना तयारी बजार खोल्दा लगानीकर्ताले ठूलो घाटा व्यहोरेको उदाहरण प्रस्तुत गर्दै संघहरूले यसपटक पनि उचित व्यवस्थापन नहुँदा लगानीकर्तामा निराशा चुलिएको बताएका छन्।
लगानीकर्ताका ६ बुँदे माग
संघहरूले पुँजी बजार स्थायित्व र लगानीकर्ताको विश्वास पुनःस्थापना गर्न नेपाल राष्ट्र बैंक र सरकारलाई ६ वटा ठोस कदम चाल्न आग्रह गरेका छन् :
- बैंक तथा वित्तीय संस्थाको सक्रियता
बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा सहभागी हुने वातावरण बनाउन र पूँजी बजारलाई तरल बनाउने नीतिगत व्यवस्था गर्न माग गरिएको छ। यसले बजारमा तरलता बढाउने मात्र नभई दीर्घकालीन स्थायित्व कायम हुने विश्वास गरिएको छ। - व्यक्तिगत शेयर धितो कर्जा सीमा हटाउन
हाल एक परिवार (Single Obligator) लाई २५ करोड रुपैयाँसम्म मात्र शेयर धितो कर्जा दिने सीमा पूर्णरूपमा हटाउनुपर्ने माग गरिएको छ। यसले लगानीकर्ताको पहुँच सजिलो बनाउने र विश्वसनीय लगानी वातावरण तयार गर्ने विश्वास गरिएको छ। - लघुवित्त संस्थाको लाभांश वितरण
लघुवित्त संस्थाले न्यूनतम २५% भन्दा बढी लाभांश वितरण नगर्ने प्रचलनले लगानीकर्तामा नकारात्मक प्रभाव पारेको भन्दै, नाफा र वित्तीय क्षमताका आधारमा लाभांश वितरण गर्ने व्यवस्था मिलाउन माग गरिएको छ। - बैंक तथा वित्तीय संस्थाको पूँजी बजारमा लगानीको सीमा तोक्न
हालको प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाले प्राथमिक पूँजीको सीमित हिस्सा मात्र शेयर बजारमा लगानी गर्न पाउने छन्। यसलाई २०७३ मा तोकिएको व्यवस्थाअनुसार पुनःसमायोजन गरी लगानी बढाउनुपर्ने माग छ। - बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई शेयर धितो कर्जा प्रवाह गर्ने व्यवस्था
धितो कर्जाको सीमा र प्रावधान लचिलो बनाइ लगानीकर्तालाई सहज कर्जा पहुँच उपलब्ध गराउनुपर्ने, जसले लगानीकर्ताको मनोबल बढाउन सहयोग गर्ने उल्लेख छ। - गैरआवासीय नेपाली (NRN) लाई सहज पहुँच
गैरआवासीय नेपालीलाई कानुनी र प्राविधिक अवरोधका कारण भोग्नुपरेको कठिनाइ हटाई, पारदर्शी वातावरण सिर्जना गर्दै नेपालमा पूँजी बजार लगानी गर्न सहज बनाउने व्यवस्था गर्न माग गरिएको छ। यसले विदेशी मुद्राको भित्र्याउन सहयोग गर्ने र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।