मुग्लिन–नारायणगढ सडकखण्ड ३६ घण्टादेखि अवरुद्ध
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा गएको ठूलो पहिरो हटाउने काम आइतबार बिहानदेखि सुरु भएको छ। तर निरन्तर वर्षाका कारण पहिरो पन्छाउने कार्यमा कठिनाइ भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार सडकको दुबै तर्फबाट डोजर परिचालन गरी पहिरो हटाउने प्रयास भइरहेको छ। इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा शुक्रबार साँझदेखि लगातार पहिरो खस्दै आएको छ।
यसै कारण सडक ३६ घण्टादेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ। मौसम अनुकूल भए केही घण्टाभित्रै सडक सञ्चालनमा ल्याउन सकिने सम्भावना रहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने यात्रुवाहक तथा मालवाहक सवारी गन्तव्यमा पुग्न नसक्दा हजारौँ यात्रु मुग्लिन र आबुखैरेनी क्षेत्रमा अलपत्र परेका छन्।
