भीमफेदीद्वारा उच्च अदालत हेटौंडाका लागि सामाग्री हस्तान्तरण
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाद्वारा उच्च अदालत पाटन हेटौंडा इजलासका लागि कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिन हस्तान्तरण गरिएको छ ।
जेन–जी आन्दोलनका कारण उच्च अदालत पाटन हेटौंडा इजलासको भवन र भित्र रहेका धेरैजसो सामाग्री जलेर नष्ट भएका थिए । त्यसै कारणले गर्दा अदालतका काम गर्न असहज भइरहेको समयमा भीमफेदी गाउँपालिका कार्यालयले आज कम्प्युटर दुइ थान, प्रिन्टर २ थान र एक थान फोटोकपी मेसिन हस्तान्तरण गरिएको हो ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन हेटौंडा इजलासका उपरजिष्टार बद्री प्रसाद लामिछानेलाई हस्तान्तरण गरेका थिए । उनले पालिकाको तर्फबाट यसरी सहयोग उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए । अदालतका उपरजिष्ट्रार लामिछानेले कम्प्युटर लगायतका सामग्रीले अदालत संचालनमा मद्दत गर्ने बताउँदै पालिकालाई धन्यवाद व्यक्त गरेका छन् । दैनिक कार्य संचालनमै समस्या परेको थियो, यो मद्दतले अदालतको दैनिक कार्य संचालनमा महत्वपूर्ण सहयोग पुर्याउँछ– लामिछानेले तु खबरसित भने ।
कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत जीवन कुंवर, अदालतका अधिकृत जय प्रकाश घिमिरे लगायतकाको सहभागिता रहेको थियो ।
