राष्ट्रपति भवनमा आज साढे ११ बजे मन्त्रिपरिषद् सदस्यहरूको शपथ

तु खबर संवाददाता
२०८२ भाद्र ३०, सोमबार ०९:११

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन्। पहिलो चरणमा विस्तार हुन लागेको मन्त्रिपरिषद्मा अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्रीका साथै कानुन मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई शहरी विकास, ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ।

पूर्व सचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको नेतृत्व दिने तयारी भएको छ। तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभेद भएपछि सचिव पदबाट राजीनामा दिएका खनाललाई प्रधानमन्त्री कार्कीले गैरदलीय मन्त्रिपरिषद् विस्तारअन्तर्गत अर्थमन्त्री बनाउन लागेकी हुन्।

मन्त्रिपरिषद्का सदस्यहरूको शपथग्रहण आज बिहान साढे ११ बजे राष्ट्रपति भवन शीतल निवासमा हुने भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबारदेखि मन्त्री नियुक्त प्रक्रिया सुरु गरेकी हुन्। मन्त्री छनोटप्रति केही असन्तुष्टि पनि देखिएको छ। सुदन गुरुङ समूहका युवाहरूले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि भेला भएर मन्त्री छनोटप्रति आपत्ति जनाउँदै नाराबाजी गरेका थिए।

खनालको नियुक्तिसँगै अर्थ मन्त्रालयमा अनुभव र प्रशासनिक ज्ञानको प्रयोग हुने विश्वास गरिएको छ भने घिसिङले ऊर्जा तथा पूर्वाधार क्षेत्रमा सुधार गर्ने अपेक्षा गरिएको छ।