देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षा हुनसक्ने चेतावनी
काठमाडौं । अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुन सक्रिय रहेकाले सोमबार दिनभर देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका धेरै स्थान र तराईका केही भागमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। राति पनि देशभर सामान्यतया बदली रहँदै विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
यसैबीच, सोमबार बिहान दाङका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा भारत आसपास अवस्थित छ, जसको प्रत्यक्ष प्रभाव नेपालमा परिरहेको छ।
