जीतपुरसिमरा उपमहानगरपालिकामा सेवा सुरु

तु खबर संवाददाता
२०८२ भाद्र २९, आईतवार १८:२८

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले आजबाट आफ्नो दैनिक प्रशासनिक कामकाजको सुरुवात गरेको छ । जेन जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि बन्द रहेको कार्यालय आजबाट खुलेको र कामकाज सुरु गरिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले आजबाट कार्यालयको कामकाज सुरु भएको जानकारी दिए ।

यसअघि बसेको ४७ औँ कार्यपालिकाको बैठकले जेन जी आन्दोलनका क्रममा मृत्यु भएकाहरुमा श्रद्धाञ्जली व्यक्त गरेको थियो भने घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको थियो । नगर प्रमुख पौडेलको अध्यक्षतामा बसेको बैठकले आन्दोलनपश्चातको संवेदनशील अवस्थामा जनतामा कसरी प्रभावकारी सेवा उपलब्ध गराउने भन्ने सन्दर्भमा छलफल समेत गरेको थियो ।

यसैबीच, जीतपुरसिमरा उपमहानगरपालिकाभित्र  विद्यालयहरु पनि आजबाटै सुरु भएका छन् । यस अघि नगर प्रमुख पौडेलले सार्वजनिक तथा सस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग पनि बैठक राखेका थिए । सो बैठकपछि विद्यालयहरु सुरु गर्न सर्वपक्षीय सहमति जुटेको थियो ।

जेन जी आन्दोलनका क्रममा सो पालिकाका ६ वडा कार्यालयहरु तोडफोड र आगजनी भएका छन् भने अन्य वडाहरुमा सेवा सुरु भइसकेको छ ।