काठमाडौंमा कर्फ्यु क्षेत्र थप, आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू

तु खबर संवाददाता
२०८२ भाद्र २३, सोमबार १३:५२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको कर्फ्यु क्षेत्र थप गरेको छ। आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी नयाँ आदेश जारी गरिएको हो।

नयाँ आदेशअनुसार राष्ट्रपति कार्यालय शितल निवास, उपराष्ट्रपति कार्यालय हरित गृह, नारायणहिटी दरबार सङ्ग्रहालय र सिंहदरबार क्षेत्र कर्फ्यु क्षेत्रभित्र परेको छ।

प्रशासनका अनुसार शितल निवास (महाराजगन्ज) क्षेत्र उत्तरतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्वतर्फ सामाखुसी मोडदेखि १०० मिटर दक्षिणसम्म र पश्चिमतर्फ सामाखुसी खोल्सासम्म कर्फ्यु लागु हुनेछ।

त्यस्तै, उपराष्ट्रपति कार्यालय (हरित गृह) लैनचौर क्षेत्रमा केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा केशरमहल चोकदेखि दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म, दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

सिंहदरबार क्षेत्रमा भद्रकाली मन्दिरको पूर्वी कुनादेखि सिंहदरबार मूलगेटसम्म, मूलगेट अगाडिबाट उत्तरतर्फ पद्मोदय मा.वि. मोडसम्म, सो मोड हुँदै महालेखा परीक्षक कार्यालय अगाडि भएर अनामनगरतर्फ जाने मार्गसम्म कर्फ्यु लागू हुने प्रशासनले जनाएको छ। त्यस्तै, सिंहदरबार पूर्वी गेटदेखि हनुमानस्थान मन्दिरसम्म र मूलगेट अगाडिबाट दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्त्व विभागको चोकसम्म पनि कर्फ्यु आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कडाइका साथ कर्फ्यु आदेश पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।