लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं । नेपाली प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जना मानिसहरुलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले दिएको जानकारी अनुसार, दाङ, धादिङ, कास्की, सिराहा, तनहुँ, कैलाली र कपिलबस्तुबाट विभिन्न व्यक्तिहरुलाई लागु औषधसहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-११ डोक्रेनाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्राप्त जानकारी अनुसार, पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय मानव बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका-६ बरिगाउँ बस्ने ३० वर्षीय सुनु विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
धादिङ, थाक्रे गाउँपालिका-६ महादेववेशी बजारबाट लागूऔषध गाँजा करिब ५३ किलो ५ सय ग्राम र चरेश करिब ५ सय ग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिजय रोका समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले मकवानपुरबाट महादेववेशी बजारतर्फ आउँदै गरेको बा.प्र ०३-००१ ह ८७९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा ती लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-११ रामघाट बस्ने ५२ वर्षीय बिर बहादुर नेपालीलाई नियन्त्रित लागूऔषध स्पास्मो १ हजार २ सय ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-३ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बल्डडा बस्ने २२ वर्षीय दिप कुमार यादव र नरहा गाउँपालिका-५ बस्ने ३० वर्षीय ईन्द्रजित कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कसहाबाट गोलबजारतर्फ आउँदै गरेको स.७ प २५९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २५ वर्षीय सिम चौधरीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ६० मिलिग्राम सहित बुद्धभूमि नगरपालिका-२ गोरूसिंगे बस्ने २२ वर्षीय सुदिप घिमिरेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।
तनहुँ, म्याग्दे गाउँपालिका-४ थर्पु बजारबाट अवैध लागूऔषध गाँजा करिब २५ किलो २ सय ९० ग्राम सहित धादिङ गजुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय अक्कल बहादुर तामाङ समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले धादिङबाट पोखरातर्फ जाँदै गरेको बा.९२ प ५४२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई गाँजा सहित पक्राउ गरेको हो ।



