काठमाडौं उपत्यकामा धूमधामका साथ इन्द्रजात्रा मनाइँदै

तु खबर संवाददाता
२०८२ भाद्र २१, शनिबार ०८:२३

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो जात्रा औपचारिक रूपमा सुरु भएको हो ।

यो पर्व विशेष गरी काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ । जात्रा अवधिभर विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गर्ने परम्परा रहिआएको छ ।

आजको मुख्य आकर्षणमा हनुमानढोका दरबारस्थित गद्दी बैठक अगाडि जीवित देवी श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा रहनेछ । यसअघि राजाले स्वयं उपस्थित भएर दर्शन गर्ने परम्परा भए पनि हाल यो अवसरमा राष्ट्रपतिबाट अवलोकन गर्ने चलन कायम छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजयपछि विजय मनाउने पर्वका रूपमा र इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने अवसरका रूपमा इन्द्रजात्रा मनाउने परम्परा रहेको ऐतिहासिक मान्यता छ ।

जात्राभरि भक्कु नाच, महाकालीनाच, लाखेनाच, दशावतार नाच, साथै इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच देखाइन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ अर्थात् लडाउने विधान छ । भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था अनुसार यो पर्व समापन हुने गर्छ ।