मेयर बालेन्द्र शाहविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा आज सुनुवाइ

तु खबर संवाददाता
२०८२ भाद्र १६, सोमबार १२:११
file-photo

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ । सर्वोच्च अदालतको आदेशविरुद्ध शाहले दिएको अभिव्यक्ति विवादमा परेको थियो ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासमा शाहविरुद्ध दर्ता भएको अवहेलनाको मुद्दा सुनुवाइ हुँदैछ । अधिवक्ता दीपकराज जोशीले अदालतको आदेशको अवहेलना गर्दै शाहले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित रिट निवेदन दायर गरेका हुन् ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो । तर सो आदेशको विरुद्धमा मेयर शाहले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भन्ने प्रतिक्रिया दिएका थिए । उक्त अभिव्यक्तिपछि नै अदालतमा अवहेलनासम्बन्धी मुद्दा दायर भएको हो ।