डा. गोविन्द केसीद्वारा निजी मेडिकल कलेज सिट वृद्धि विरुद्ध सत्याग्रह सुरु
काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने सरकारको निर्णयको विरोध गर्दै २३ औँ सत्याग्रह सुरु गरेका छन् । धनगढीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आइतबारदेखि सुरु गरिएको तीनदिने सत्याग्रहमा उनले सरकार र अदालतका गलत निर्णयले चिकित्सा शिक्षा ऐन नै धरापमा परेको बताएका छन् ।
डा. केसीका अनुसार निजी मेडिकल कलेजको सिट संख्या वृद्धि गर्दा शिक्षा प्रणालीको गुणस्तरमा ह्रास आउने र नेता–माफियाको स्वार्थ मात्र पूरा हुने अवस्था सिर्जना हुन्छ । उनले यसअघि भएका सम्झौता कार्यान्वयन गर्दै एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधानलाई लागू गर्नुपर्ने माग पनि अघि सारेका छन् ।
यस पटकको सत्याग्रहमार्फत डा. केसीले निजी मेडिकल कलेजमा गरिएको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, साथै कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका छन् । विज्ञप्ति जारी गर्दै उनले सत्याग्रह प्रारम्भिक तीन दिनसम्म सञ्चालन हुने जानकारी दिएका छन् ।
