वीरगञ्जमा हैजाको प्रकोप : दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्द

तु खबर संवाददाता
२०८२ भाद्र ८, आईतवार ०९:४७

वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि सम्पूर्ण शैक्षिक संस्थाहरू दुई दिनका लागि बन्द गरिएका छन् । महानगरको शैक्षिक प्रशासन महाशाखाले आइतबार र सोमबार विद्यालय बन्द गर्ने निर्णय गर्दै सूचना जारी गरेको हो ।

वीरगञ्ज महानगरपालिकाको वडा नं. ११, १२, १३ र १६ मा हैजा तीव्र रूपमा फैलिएको पुष्टि भएको छ । हाल विभिन्न अस्पतालहरूमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ भने १२९ जना उपचाररत छन् । वीरगञ्जको मुर्ली टोलमा झाडापखाला बढ्दै गएपछि अस्पताल भर्ना हुनेहरूको संख्या पनि बढ्दो क्रममा छ ।

महानगरपालिकाले हैजाको जोखिम नियन्त्रणका लागि घर–घरमै टोली पुगी सचेतना फैलाउने, सरसफाइमा जोड दिने र संक्रमितलाई उपचारमा ल्याउने कार्य गरिरहेको जनाएको छ ।

नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले पिउनेपानी उमालेर वा निर्मलीकरण गरेर मात्र पिउन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । मुर्ली टोलमा प्रयोग भइरहेको पानीको नमूना थप परीक्षणका लागि काठमाण्डौस्थित टेकु प्रयोगशालामा पठाइएको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जका विभिन्न अस्पतालमा पुगेर बिरामीहरूको अवस्थाबारे जानकारी लिँदै सरकार हैजा नियन्त्रणमा संवेदनशील रहेको बताएका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी शुद्धिकरणका लागि ‘पियुष’ लगायतका सामग्रीसहितको मोबाइल टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

पर्सामा पछिल्लो १० वर्षयता समुदायस्तरमै पहिलोपटक देखिएको हैजाको यस प्रकोपले वीरगञ्ज महानगरपालिकाका सम्पूर्ण वडाहरूलाई जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ ।