भूमि विधेयक समितिबाट पारित, माओवादी–रास्वपाको फरक मत
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक बहुमतले पारित भएको छ । बिहीबार बसेको समितिको बैठकमा एमाले र नेपाली कांग्रेसका सांसदहरूले प्रतिवेदनमा समर्थन जनाएपछि विधेयक पारित भएको हो ।
तर, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने विधेयकमाथि असहमति जनाउँदै फरक मत लेख्ने तयारी गरेका छन् । समितिबाट बाहिरिएका माओवादी सांसदहरूले शुक्रवारसम्म फरक मतसहितको टिप्पणी दिन सक्ने बताइएको छ ।
रास्वपाका सांसद अशोक कुमार चौधरीले सत्तापक्षले पारित गरेको विधेयकप्रति असहमति जनाउँदै आफूहरूले नोट अफ डिसेन्ट पेस गर्ने तयारीमा रहेको स्पष्ट पारे ।
यसअघि बालुवाटारमा कांग्रेस–एमालेबीच भएको बैठकमा विधेयक रोकिएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका थिए । कांग्रेसका सांसदहरूले राखेका संशोधनहरू स्वीकार गरिए पनि विधेयक रोकिनु उचित नभएको उनको भनाइ थियो ।
समितिबाट बहुमतले पारित भए पनि माओवादी र रास्वपाको फरक मतका कारण भूमि विधेयकबारे राजनीतिक रस्साकस्सी कायम रहने देखिएको छ ।
